कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिले आफ्ना वर्षौंदेखिका मागहरू राज्यले बेवास्ता गरेको भन्दै कडा आन्दोलन सुरु गरेको छ। बुधबार दिउँसो पीडितहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि भेला भएर ‘अर्धनग्न’ प्रदर्शन गरेका छन्। लामो समयदेखि न्याय र पुनस्र्थापनाको पर्खाइमा रहेका पीडितहरूले आन्दोलनको स्वरूपलाई कडा बनाउँदै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।
आन्दोलनरत संघर्ष समितिले सरकारसमक्ष विभिन्न ५ बुँदे माग अघि सारेको छ। उनीहरूको मुख्य मागमा आरक्ष पीडितहरूलाई पुनस्र्थापनाका लागि प्रति परिवार १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने रहेको छ। यसका साथै, विगत २४ वर्षदेखिको क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्यलगायतका आधारभूत सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूले राखेका छन्।
त्यस्तै, संघर्ष समितिले आफूहरूलाई राज्यले औपचारिक रूपमा ’द्वन्द्व पीडित’ घोषणा गर्नुपर्ने र पीडितहरूको बसोबास क्षेत्रलाई राज्यको संरचनाअनुसार एउटै वडाका रूपमा घोषणा गरी व्यवस्थित गर्नुपर्ने माग अघि सारेको छ। यसअघि मंगलबार मात्रै उनीहरूले महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। पटक–पटकको आश्वासनपछि पनि माग पूरा नभएको भन्दै पीडितहरूले अब आफूहरू निर्णायक आन्दोलनमा रहेको बताएका छन्।