काठमाडौं । सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गस्थित आर.आर. क्याम्पसमा विद्यार्थी संगठनहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि एक–अर्काका प्रतिस्पर्धी रहेका नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले सरकारको उक्त कदमविरुद्ध एकजुट भएर प्रदर्शन गरेका हुन्।
आर.आर. क्याम्पस परिसरमा भेला भएका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले ’कालो बेलुन’ उडाएर सरकारको निर्णयप्रति सांकेतिक विरोध जनाएका छन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुधनगुरुङ लक्षित गर्दै नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले बालेन शाह मुर्दावाद, डिजे गृहमन्त्री राजिनामा दे’ अनागरिक सरकार मुर्दावाद, गोल्डेन सरकार होसियार, बारबरा सरकार होसियार जस्ता प्लेकार्ड बोकेर उनीहरुले कालोे बेलुन उडाएर सरकारको विरोध गरेका हुन ।
सरकारले ल्याउन लागेको नयाँ नीति वा विद्यार्थी संगठनहरूको अस्तित्वमाथि नै प्रहार गर्ने गरी आएका पछिल्ला निर्णयहरूका कारण यी दुई ठूला विद्यार्थी संगठनहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थी संगठन खारेज गर्ने सरकारी तयारीलाई उनीहरूले ’अलोकतान्त्रिक’ र ’विद्यार्थीको अधिकार विरुद्धको कदम’ भन्दै आएका छन्। आगामी दिनमा आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत विद्यार्थी नेताहरूले दिएका छन्।

