काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ले बैंकबाट ऋण लिएर जनताको सेवा गर्दा पनि आफूलाई ‘माफिया’ भन्ने आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बैंक तथा सर्वसाधारणबाट लिएको ऋण प्रयोग गरेर जनताको सेवा गर्ने काम गर्दा पनि गलत रूपमा चित्रण गरिएको दाबी गरे। आफूहरूले जनताकै सेवा गरेको भए पनि राज्यले विभेद गरेको उनको आरोप छ। उनका अनुसार, “बैंकबाट लोन लिएर जनतालाई बस्ने सुविधा दिएका छौं, जनताको सेवा गरेका छौं तर हामीलाई नै माफिया भनिएको छ,” भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
प्रसाईँले सरकारको निःशुल्क शिक्षा र स्वास्थ्य नीतिप्रति पनि प्रश्न उठाउँदै ती सेवाहरू निःशुल्क नभई नागरिकले किन्न सक्ने क्षमतामा आधारित हुनुपर्ने धारणा राखे। त्यसैगरी, उनले देशको ‘डिप स्टेट’ मा केही मारवाडी र नेपाली व्यक्तिहरू संलग्न रहेको दाबी गर्दै त्यसलाई नियन्त्रण नगरे अर्थतन्त्र कमजोर हुने चेतावनीसमेत दिए। उनले यस विषयमा गृहमन्त्रीलाई ध्यान दिन आग्रह गरेका छन्।