काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीको वितरण र यसको दुरुपयोग रोक्ने विषयमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारमा आयोजित बैठकमा राहदानीको कानुनसम्मत प्रयोग र यसलाई थप व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर परामर्श गरिएको हो।
सांसदहरूले कूटनीतिक राहदानीको माग गरिरहेको र विगतमा कूटनीतिक राहदानीको दुरुपयोगका घटनाहरू बाहिरिएको सन्दर्भमा सभामुखले यो बैठक बोलाएका हुन्। बैठकमा सांसदहरूलाई विशेष सरकारी कार्यक्रम वा महत्त्वपूर्ण कामका लागि विदेश जाँदा मात्र राहदानी उपलब्ध गराउने कानुनी व्यवस्थाको कार्यान्वयन र यसलाई कसरी थप मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सांसदहरूको माग र कानुनी व्यवस्थाबीच सन्तुलन मिलाउने विषयमा सभामुखले राय सल्लाह लिनुभएको जानकारी दिइन्। उनले भनिन्, “विभिन्न प्रतिनिधिसभा सदस्यहरूबाट कूटनीतिक राहदानीको माग आइरहेको छ। राहदानी ऐन, २०७६ र नियमावलीअनुसार विशेष काममा जाँदा मात्र तोकिएका पदाधिकारीले राहदानी पाउने व्यवस्था छ। अहिलेको कानुनअनुसार सबैलाई यो सुविधा दिन नमिल्ने भएकाले आगामी दिनमा कसरी सहजीकरण गर्ने भन्नेबारे हामीले छलफल गरेका छौँ।”
प्रमुख सचेतक ओलीले विगतका कमजोरीबाट पाठ सिक्दै कानुनी दायराभित्रै रहेर अगाडि बढ्नुपर्नेमा सबै दल एकमत रहेको बताइन्। “विगतमा राहदानी दुरुपयोगका घटना भएका छन्, अब त्यस्तो हुन नदिन कानुनको पूर्ण पालना गराउनु नै हाम्रो प्राथमिकता हो,” उनले थपिन्।
छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानी प्रयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे ब्रिफिङ गरेका थिए। मन्त्रालयका अधिकारीहरूले ऐनले तोकेको सिमाभन्दा बाहिर गएर राहदानी वितरण गर्न नमिल्ने स्पष्ट पारेका थिए।
सभामुख अर्यालले सचेतकहरूसँगको राय परामर्शपछि कूटनीतिक राहदानी वितरण र प्रयोगलाई कानुनसम्मत बनाउन आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका छन्। अर्को बैठकबाट यस विषयमा थप स्पष्ट नीतिगत निर्णय लिइने सहमति भएको छ।