काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको संख्यालाई व्यवस्थित गर्ने उद्देश्यले ‘बन्ध्याकरण शिविर’ सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनिकरण, रेबिजको जोखिम तथा जुनोटिक रोगको सम्भावित खतरालाई रोक्न नगरपालिकाले यो अभियान सुरु गरेको हो।
नगरपालिकाले पछिल्लो समय सामुदायिक कुकुरको बढ्दो संख्याले सडक हिँड्ने सर्वसाधारण, सवारी चालक र विशेष गरी विद्यालय जाने बालबालिकाहरूमा पारेको जोखिमलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाएको हो। सामुदायिक कुकुरको जनसंख्या नियन्त्रण गर्न नसक्दा बढ्दो रेबिजको प्रकोप र सडक दुर्घटनालाई न्यूनीकरण गर्नु नै यस शिविरको मुख्य लक्ष्य रहेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं. १ स्थित पुरानो स्वास्थ्य चौकी भवनलाई केन्द्र बनाएर शिविर सञ्चालन भइरहेको छ। नगरपालिकाको पहलमा खटिएको विज्ञ प्राविधिक टोलीले कुकुरहरूलाई सुरक्षित रूपमा नियन्त्रणमा लिने, स्वास्थ्य परीक्षण गर्ने र अनुभवी पशु सर्जनद्वारा शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने कार्य गरिरहेको छ। बन्ध्याकरण प्रक्रियापछि कुकुरहरूलाई आवश्यक औषधी उपचारसहित पुनः व्यवस्थित तरिकाले सोही क्षेत्रमा छोड्ने व्यवस्था मिलाइएको छ। यस कार्यमा स्थानीय बासिन्दाहरूको सक्रिय सहयोग र समन्वय रहेको नगरपालिकाले जनाएको छ।
स्थानीयहरूले नगरपालिकाको यस कदमको स्वागत गरेका छन्। सामुदायिक कुकुरहरूको संख्या नियन्त्रणमा आउँदा भविष्यमा सडक सुरक्षा र जनस्वास्थ्यमा सुधार आउने र पशु–मानवबीचको द्वन्द्वमा पनि कमी आउने विश्वास गरिएको छ। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै कुकुरको रेबिजविरुद्धको खोप अभियानसँगै जोडेर लैजाने तयारी समेत गरेको छ।