बुटवल । बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा प्रहरीले थप दुई चिकित्सकलाई नियन्त्रणमा लिएको छ। स्वास्थ्य संस्थाको चरम लापरबाही र आर्थिक प्रलोभनका कारण आफ्नो श्रीमतीको ज्यान गएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाले गम्भीर मोड लिएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डे १२ हप्ताको गर्भ जाँच गराउन गत चैत २७ गते बुटवलको ‘खत्री नर्सिङ होम’ पुगेकी थिइन्। नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीले गर्भ असामान्य रहेको भन्दै उनलाई थप उपचारका लागि वैशाख ४ गते पुनः बोलाएका थिए।
वैशाख ५ गते श्रीमान् प्रकाश पाण्डेसहित पुनः नर्सिङ होम पुगेकी गीतालाई त्यहाँबाट बुटवल अस्पताल लाइनस्थित ‘जोनल फार्मेसी क्लिनिक’मा पठाइएको थियो। परिवारका अनुसार, जोनल फार्मेसीले गर्भपतनको १६ हजार रुपैयाँ शुल्क लिई २ हजार एड्भान्समा औषधी दिएको थियो। त्यसपछि उनलाई ‘इन्दुलेखा स्वास्थ्य क्लिनिक’मा लगिएको थियो, जहाँ डा. सतिश रुपाखेतीले जाँच गरेका थिए। सोही क्रममा गीताको स्वास्थ्य अवस्था बिग्रिएपछि लुम्बिनी सिटी अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
मृतकका पति प्रकाश पाण्डेले चिकित्सकहरूले आर्थिक लाभको उद्देश्यले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्। स्वास्थ्य क्षेत्रमा भइरहेको ‘कमिसनको जालो’ का कारण आफूले श्रीमती गुमाउनुपरेको उनको भनाइ छ। “पैसा कमाउने उद्देश्य राखेर उपचारमा चरम लापरबाही भएको छ। गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही हुनुपर्छ,“ मृतकका पति प्रकाशले भने।
उनले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमाथि गम्भीर प्रश्न उठाउँदै उपचारका रिपोर्टहरू समेत लुकाइएको दाबी गरेका छन्। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिश रुपाखेतीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मंगलबार बेलुका अबेर डाक्टरहरू आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
यसअघि नै प्रहरीले घटनामा संलग्न सन्ध्या बस्नेत (जोनल फार्मेसी सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी कर्मचारी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक) लाई पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। उनले थप अनुसन्धानपछि संलग्नता देखिएका सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
मृतकका आफन्तहरूले हाल घटनामा संलग्न स्वास्थ्य संस्थाहरूमा तालाबन्दी गरेका छन्। पाल्पाबाट उपचारका लागि बुटवल पुगेकी एक स्वस्थ महिलाको उपचारका नाममा भएको यो अकाल मृत्युले स्थानीयस्तरमा स्वास्थ्य सेवाको गुणस्तर र नियमनमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।