काठमडौँ । विश्व पृथ्वी दिवसको अवसरमा मुस्ताङको ताङ्वे गाउँले प्रकृति, मानव बस्ती र हरियालीको अनौठो संगम प्रस्तुत गरेको छ।
३ हजार ६० मिटरको उचाइमा अवस्थित ताङ्वे गाउँ प्राकृतिक सौन्दर्यले भरिएको अनुपम गन्तव्यका रूपमा परिचित छ। यहाँ एकैसाथ हिमाली दृश्य, मरुभूमि जस्तो देखिने सुख्खा भू–भाग, हरियाली खेत र सरल ग्रामीण जीवनशैलीको झलक देख्न पाइन्छ। गाउँको वरिपरि फैलिएको सुख्खा भू–भाग, बीचमा रहेका साना–साना खेतीयोग्य जमिन र नजिकै बग्ने कालीगण्डकी नदीले यस क्षेत्रलाई विशेष बनाएको छ। पृष्ठभूमिमा देखिने निलगिरी हिमालले दृश्यलाई अझ मनमोहक बनाएको छ। ताङ्वे गाउँ प्रकृतिको सन्तुलन र विविधताको सुन्दर उदाहरणका रूपमा पर्यटक तथा प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्दै आएको छ।