काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनमा नयाँ भाडादर लागू नहुने स्पष्ट पारेको छ। विभागले इन्धनमा आधारित सार्वजनिक सवारीसाधनका लागि मात्र भाडा समायोजन गरिएको भन्दै विद्युतीय सवारीमा भाडा नबढाउन सेवा प्रदायकहरूलाई कडा निर्देशन दिएको छ।
गत चैत २५ गते विभागले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएको भन्दै स्वचालित भाडा समायोजन प्रणालीमार्फत अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा बढाएको थियो। तर, उक्त निर्णय डिजेल वा पेट्रोल इन्जिन प्रयोग गर्ने सवारीसाधनका लागि मात्र लागू हुने विभागले प्रस्ट पारेको छ।
पछिल्लो समय विद्युतीय सवारी सेवा प्रदायकहरूले यात्रुसँग मनोमानी ढंगले नयाँ भाडा असुलेको र यात्रुलाई अनिवार्य रूपमा ’यात्री टिकट’ उपलब्ध नगराएको भन्दै विभागमा व्यापक गुनासो आएको थियो। सोही गुनासोलाई सम्बोधन गर्दै विभागले निम्न निर्देशन जारी गरेको छ ।
विभागले चेतावनी दिँदै भनेको छ, ’यदि कुनै पनि यातायात सेवा प्रदायकले नियम विपरीत भाडा असुलेको वा टिकट नदिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।’
विभागले यात्रुहरूलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न र टिकट लिन आग्रह गरेको छ।