काठमाडौँ । सिरहा कारागारमा पुनः तनाव देखिएको छ। आन्तरिक प्रशासन नियन्त्रणमा लिने प्रयासपछि २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही कैदीहरूले दुई दिनअघि चौकीदार प्रेम चौधरीलाई जबरजस्ती हटाएर कारागारको आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेका थिए। त्यसपछि उत्पन्न हुन सक्ने सम्भावित झडप र असुरक्षालाई मध्यनजर गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका कैदीलाई हाल प्रहरी हिरासतमा राखिएको छ र उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ। अनुमति प्राप्त भएपछि अन्य कारागारमा स्थानान्तरण गर्ने विषयमा निर्णय गरिने जनाइएको छ।
सिरहा कारागारमा यसअघि पनि गुटबन्दी, कुटपिट र झडपका घटना हुँदै आएका छन्। सुरक्षा व्यवस्थापन कमजोर भएको र सुरक्षाकर्मीको मिलेमतोसमेत रहेको आरोप लाग्दै आएको छ। यसअघि माघ २६ गते गरिएको सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट हतियार र गोली बरामद गरिएको थियो। सो घटनापछि इन्द्रजित यादवसहित १३ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। पछिल्ला घटनाक्रमले सिरहा कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।