काठमाडौँ । धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागरशम्सेर जबरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार जबराले बनावटी कथा तयार पारेर अडियो बनाउँदै आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको छवि बिगार्ने काम गरेको आरोप लागेको छ। सोही आधारमा प्रहरी नियमावलीअनुसार उनलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
विज्ञप्तिमा संगठनको प्रतिष्ठामाथि आघात पुग्ने किसिमको आचरण देखाएको भन्दै आवश्यक अनुसन्धान र छानबिन भइरहेको उल्लेख गरिएको छ। यसबीच सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो संवादमा तस्कर राजीव महासेठले मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाम जोड्दै विभिन्न व्यापारीबाट रकम उठाउने र उक्त रकम प्रहरीमार्फत बाँडफाँड हुने गरेको दाबी गरिएको छ।