काठमाडौँ । सरकारले अटिजमलाई केवल शैक्षिक सीमामा नभई जीवन विकाससँग जोडेर हेर्नुपर्ने अटिजम केयर सोसाइटी नेपालकी अध्यक्ष डा.सुनिता मलेखु अमात्यले बताएकी छन्।
विश्व अटिजम सचेतना दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ। ती विद्यालयलाई केवल शैक्षिक संस्थाका रूपमा मात्र नभई ‘रिसोर्स सेन्टर’को रूपमा विकास गर्ने योजना रहेको छ। अध्यक्ष अमात्यका अनुसार अटिजम भएका बालबालिकाको शिक्षा किताब पढाइमा मात्र सीमित हुनु हुँदैन, उनीहरूको सञ्चार क्षमता, व्यवहारिक सीप, दैनिक जीवन व्यवस्थापन र थेरापीलाई समेत समेटिनुपर्छ। उनले समावेशी शिक्षालाई व्यवहारमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
उनले अटिजम नमुना विद्यालयलाई रिसोर्स सेन्टरका रूपमा विकास गर्न सके अन्य विद्यालयलाई पनि तालिम, परामर्श र अनुसन्धानका माध्यमबाट सहयोग पुग्ने बताइन्। साथै, देशमा अटिजमसम्बन्धी दक्ष जनशक्ति अभाव रहेको भन्दै त्यसतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेकी छन्। सरकारले भने यी विद्यालयमार्फत अटिजम भएका बालबालिकालाई स्तरअनुसार वर्गीकरण गरी विशेष शिक्षण, थेरापी र सीप विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। दीर्घकालीन रूपमा थेरापी सेन्टर, तालिम केन्द्र र अनुसन्धान संस्थाहरू समेत विस्तार गर्ने योजना सरकारको छ।