ललितपुर । ललितपुरको इमाडोलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। बचतकर्ताको लाखौँ रुपैयाँ अपचलन गरेको आरोपमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार हालसम्म सहकारीका पीडितहरूबाट प्राप्त जाहेरीका आधारमा पाठकले ४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ।
एसपी मिश्रले अनुसन्धान प्रक्रिया जारी रहेको र पीडितहरूको संख्या थपिँदै गएकाले बिगोको मात्रा बढ्न सक्ने जानकारी दिए। उनले भने, “अहिलेसम्म आएको जाहेरीको आधारमा उक्त रकम बिगो कायम भएको हो। अझै पनि पीडितहरू थपिँदैछन्, त्यसैले बिगो थपिन सक्छ।”
सहकारीको बचत रकम अपचलन गर्ने कार्यमा अध्यक्ष पाठक मात्र नभई अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।
सहकारीमा रकम जम्मा गरेका सर्वसाधारणहरू रकम फिर्ता नपाएपछि लामो समयदेखि आन्दोलित थिए। अध्यक्षको पक्राउपछि पीडितहरूले न्याय पाउने आशा व्यक्त गरेका छन्।