काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म तराई र पहाडी क्षेत्रका विभिन्न जिल्लामा तातो दिन तथा ‘हिट वेभ’को सम्भावना रहेको जनाएको छ। नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर देखिन सक्ने सम्भावना छ। त्यस्तै, मधेश प्रदेशका सबै भू–भाग, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी भेग, खोच र उपत्यकाहरूमा पनि अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। अन्य क्षेत्रहरूमा समेत तापक्रम बढ्ने देखिएको छ।
तातो हावा र लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने तथा वान्ता जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ। विशेषगरी चर्को घाममा ननिस्कने, छाया वा शीतल स्थानमा बस्ने, बाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्ने, हल्का कपडा लगाउने तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।