काठमाडौँ। नेपालमा स्मार्टफोन आयात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभाग का अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो।
यस अवधिमा १६ लाख ७४ हजार थान मोबाइल फोन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयातमा स्पष्ट वृद्धि देखिएको छ। गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका १५ लाख ८४ हजार थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष करिब ९० हजार थान बढी फोन आयात भएको छ भने मूल्यका आधारमा झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ। तथ्यांकअनुसार नेपाली बजारमा आधुनिक र महँगा स्मार्टफोनप्रति माग बढ्दै गएको संकेत देखिन्छ। सरकारले विलासिताका वस्तुमा लगाएको प्रतिबन्ध हट्नु र नयाँ मोडलका फोन बजारमा आउनु पनि आयात वृद्धि हुनुका प्रमुख कारण मानिएको छ।