काठमाडौँ। वैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्ने उद्देश्यसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले सरकारसमक्ष विस्तृत नीतिगत सुझावसहित रोडम्याप प्रस्तुत गरेको छ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा तयार गरिएको उक्त प्रस्तावलाई मेनपावर क्षेत्र सुधारको स्पष्ट योजना रूपमा हेरिएको छ। पत्रमा वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउने लक्ष्यसहित विभिन्न सुधारका उपाय समेटिएका छन्। मुख्य रूपमा विदेश जाने कामदारको लागत नियन्त्रण, वित्तीय पारदर्शिता, र सेवा प्रणाली सुधारमा जोड दिइएको छ। संघले गन्तव्य मुलुकअनुसार अधिकतम लागत सीमा तोकी कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको छ, जसले श्रमिकमाथिको आर्थिक बोझ घटाउने अपेक्षा गरिएको छ।
त्यस्तै, मागपत्र (डिमाण्ड) प्रमाणीकरण प्रक्रियालाई छिटो, सरल र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। हाल विभिन्न निकायबीच समन्वयको कमीका कारण हुने ढिलाइ हटाउन एकीकृत प्रणाली आवश्यक रहेको संघको भनाइ छ। दूतावास नभएका देशका लागि वैकल्पिक र व्यवहारिक प्रक्रिया अपनाउनुपर्ने तथा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका नाममा श्रमिकमाथि थपिएको आर्थिक भार हटाउन कूटनीतिक पहल गर्नुपर्ने सुझाव पनि समावेश गरिएको छ।
साथै, नेपाल राष्ट्र बैंक मार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराई मेनपावर कम्पनीलाई संस्थागत र व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ। यसले अवैध कारोबार नियन्त्रण गर्न र औपचारिक प्रणाली बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष गुरुङले श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो बनाउनु आजको आवश्यकता भएको बताएका छन्। उनले सरकारसँग सहकार्य गरी सुधारका कदम अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।