कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज (मङ्गलबार) देखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ। नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिने यस निकुञ्जमा बाह्रसिङ्गाको वास्तविक अवस्था र सङ्ख्या पत्ता लगाउने उद्देश्यले गणना थालिएको हो। निकुञ्ज कार्यालय, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका साझेदार संस्थाहरूको संयुक्त सहभागितामा सुरु भएको यस गणनाका लागि ३५ जना प्राविधिक र कर्मचारी परिचालन गरिएको छ।
सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार यस पटक ‘हेड काउन्ट’ विधि अपनाइएको छ। गणनाका लागि आधुनिक प्रविधि र परम्परागत विधि दुवैको प्रयोग भइरहेको छ। यो गणना वैशाख १२ गतेसम्म जारी रहनेछ। गणनाको क्रममा बाह्रसिङ्गाको सङ्ख्या यकिन गर्नुका साथै उनीहरूको बासस्थान, आहार र सम्भावित जोखिमको समेत मूल्याङ्कन गरिने निकुञ्जले जनाएको छ।
निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट २४ किलोमिटर दक्षिणमा रहेको ३४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको घाँसेमैदानमा विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड पाइन्छ। वि.सं. २०८१ मा गरिएको गणनामा यहाँ दुई हजार १८२ बाह्रसिङ्गा फेला परेका थिए।
रेञ्जर प्रयास केसीका अनुसार, पछिल्ला वर्षहरूमा बाह्रसिङ्गाहरू मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि देखिन थालेका छन्। यो विस्तार संरक्षणका दृष्टिले निकै सकारात्मक मानिएको छ। बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजाति भएकाले यसको सङ्ख्या वृद्धिले निकुञ्जमा बाघको सङ्ख्या बढ्न पनि मद्दत पुगेको छ।