धनगढी । कञ्चनपुरमा विवाह समारोहमा सहभागी हुन गएका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। पुनर्वास नगरपालिका–५, भानुबस्तीमा भएको उक्त घटनामा १८ वर्षीय उज्वल सायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार, गएराति करिब साढे १ बजे भानुबस्तीमै आयोजना गरिएको विवाह समारोहमा विवाद बढेपछि उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो। छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तत्कालै धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए।
यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको परिचय भने तत्कालका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ।