काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा अर्बौँ मूल्य बराबरका मोबाइल सेटहरू नेपाल भित्रिएका छन्।
चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा कुल ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष ८९ हजार २ सय ९३ थान बढी मोबाइल भित्रिएका छन्। गत वर्ष १५ लाख ८४ हजार ९ सय ५६ थान मोबाइल भित्रिएका थिए।
नेपालमा आयात हुने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ। चीनबाट मात्रै चालु आवको ९ महिनामा २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९ सय ३५ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। त्यसैगरी, दोस्रो स्थानमा रहेको भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरका २ लाख ५५ हजार ८ सय २० थान मोबाइल आयात भएका छन्।
स्मार्टफोनको बढ्दो आयातले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ। चालु आर्थिक वर्षको ९ महिनामा मोबाइल आयातबाट मात्रै सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिमा यो शीर्षकमा ४ अर्ब ७३ करोड १५ लाख ८७ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो।
आयातको यो दर हेर्दा नेपाली उपभोक्ताहरूमा प्रविधि र स्मार्टफोनप्रतिको आकर्षण निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ।