काठमाडौँ । विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। विमानस्थल प्रयोगकर्ता, यात्रु र हवाई सेवा कम्पनीका कर्मचारीहरूबाट पार्किङ शुल्कबारे निरन्तर गुनासो प्राप्त भएपछि प्राधिकरणले तत्काल सम्बोधनका लागि पहल थालेको हो।
प्राधिकरणले आफ्ना निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। समितिले विमानस्थलहरूमा लिइँदै आएको पार्किङ शुल्कको समीक्षा गरी ३ दिनभित्र शुल्क संशोधनका लागि आवश्यक प्रतिवेदन प्राधिकरणसमक्ष पेस गर्नुपर्नेछ।
अत्यधिक शुल्कका कारण यात्रु र कर्मचारीहरूले सास्ती खेप्नुपरेको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले शुल्क समायोजनको प्रक्रिया अघि बढाएको हो। समितिको प्रतिवेदनले विमानस्थलको पार्किङ शुल्कलाई थप व्यवस्थित र व्यावहारिक बनाउने विश्वास लिइएको छ।