काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीन वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा, र सामाजिक न्याय उपसमिति गठन गर्ने निर्णय गरेको हो।
समितिकी सभापति जयन्ती राईका अनुसार बैठकले महत्वपूर्ण निर्णय गरेको छ। गठन भएका उपसमितिहरूमा संघीयता सबलीकरण उपसमितिको संयोजकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी रहेका छन्। उक्त उपसमितिमा सांसद उदयबहादुर बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा सदस्य छन्। यसको मुख्य जिम्मेवारी राज्यका तहगत संरचनाबीच समन्वयलाई मजबुत बनाउने रहेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजक सांसद विष्णुकुमारी सापकोटा रहेकी छन्। यसमा सांसद नारायणदत्त मिश्र, दुर्गाकुमारी गुरुङ र ललितजंग शाही सदस्य रहेका छन्। सामाजिक न्याय उपसमितिको संयोजकमा सांसद रोशनी मेचे तोकिएकी छन् भने सदस्यमा सांसद धमेन्द्र पासवान र मनरुपा शर्मा रहेका छन्। यस उपसमितिमा पछि थप सदस्य पनि समावेश गरिने बताइएको छ।
सभापति राईका अनुसार समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन, अनुगमन तथा तहगत विषयमा छलफल गर्न कार्ययोजना तयार गरिरहेको छ। साथै आगामी १० गते विपद् व्यवस्थापन र साइबर बुलिङ सम्बन्धी विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलाउने तयारी पनि गरिएको छ। त्यसैगरी किसानका समस्याबारे पनि खेती सुरु हुनुअघि नै मल, बिउ लगायत आवश्यक सामग्रीको व्यवस्थापनका विषयमा छलफल अघि बढाइने उनले जानकारी दिइन्।