काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण समयमा कटौती गरिएको छ। विमानस्थलको रनवे विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान र अवतरण बन्द हुने समय बढाएको हो।
आज सोमबार (वैशाख ७ गते) देखि आगामी जेठ ४ गतेसम्मका लागि विमानस्थलको सञ्चालन समय घटाइएको छ। यो २७ दिनको अवधिमा अब दैनिक ६ घण्टा ४५ मिनेट विमानस्थल बन्द रहनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, विमानस्थल राति ११ः४५ देखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म बन्द हुनेछ। यसअघि विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द हुने गरेको थियो।
प्राधिकरणका अनुसार विमानस्थलको दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले थप १ घण्टा ४५ मिनेट समय बन्द गर्न लागिएको हो। निर्माण कार्य अवधिभर रात्रिकालीन उडान तथा अवतरण तालिका प्रभावित हुनेछ।