उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आपसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ७३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
चौदण्डीगढी नगरपालिका–७ सिता पाईला टोलका ६४ वर्षीय माहाशेर राईको हत्या भएको हो । सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईले आइतबार राति आपसी वादविवादको क्रममा धारिलो हतियार (चक्कु) प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले अभियुक्त राम प्रसाद राईलाई तत्काल नियन्त्रणमा लिएको छ ।
गम्भीर घाइते भएका माहाशेरको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।