पोखरा । तनहुँको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा आगामी वैशाख १८ र १९ गते दुईदिने ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ। गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥याउने उद्देश्यसहित उक्त मेला आयोजना गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुन लागेको यो मेलाले नेपाल सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्यलाई सार्थक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ।
मेलाको तयारी र उद्देश्यबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले गाउँ पर्यटनलाई सशक्त बनाउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मेला कोशेढुंगा सावित हुने बताए ।
यस मेलामा ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।