काठमाडौं । श्रम अदालतले श्रमजीवी पत्रकारलाई कानुनले तोकेको पारिश्रमिकसहितको बक्यौता असुल गराउन गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन अध्यक्ष जीबी राईसहित सञ्चालकका नाममा आदेश दिएको छ । श्रम कार्यालयले गरेको निर्णयलाई सदर गर्दै श्रम अदालतबाट ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेललगायत नाममा आदेश जारी भएको हो ।
श्रम अदालतमा फिरादपत्र दायर गर्ने अधिवक्तासमेत रहेका पत्रकार वासु खड्काले गत चैत १६ मा यस्तो फैसला भएको जानकारी दिए । श्रम अदालतका अध्यक्ष जनक पाण्डे र सदस्य शैलेन्द्रकुमार चौरसियाको इजलासले श्रम कार्यालयले गोर्खा मिडियाबाट श्रमजीवी पत्रकारको पारिश्रमिक असुल गराउन दिएको निर्णय सदर गरेको छ ।