काठमाडौं । काठमाडौंको चाबहिलस्थित एक चिया क्याफेमा आइतबार दिउँसो भीषण आगलागी भएको छ। चाबहिलको मुख्य चोक नजिकै रहेको ’हाजीपुर चिया क्याफे’ मा भएको आगलागीका कारण क्याफेको सम्पूर्ण भौतिक संरचना जलेर पूर्ण रूपमा नष्ट भएको छ।
आगलागीको जानकारी पाउनेबित्तिकै काठमाडौं महानगरपालिकाको वारुणयन्त्र र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा केही समयभित्रै आगोलाई नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आएकाले ठूलो बस्ती रहेको सो क्षेत्रमा थप क्षति हुनबाट जोगिएको छ।
प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। यद्यपि, क्याफेको फर्निचर, खाद्यान्न र अन्य मेसिनरी सामानहरू गरी लाखौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीका कारण क्याफेको वरिपरि रहेका अन्य केही संरचनामा समेत आंशिक क्षति पुगेको छ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट ग्यास लिक भएर आगलागी सुरु भएको हुन सक्ने अनुमान गरिएको छ। “अचानक आगोको मुस्लो देखिएपछि नियन्त्रणको प्रयास गरिएको थियो, तर संरचनाहरू प्रज्वलनशील भएकाले छिट्टै फैलियो,“ एक प्रत्यक्षदर्शीले बताए।
प्रहरीले घटनाको विस्तृत विवरण र क्षतिको यकिन मूल्यांकन भइरहेको जनाएको छ। गर्मीको मौसम सुरु भएसँगै आगलागीका घटनाहरू बढ्न सक्ने भएकाले ग्यास सिलिन्डर र विद्युत सर्ट हुने कुरामा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।