काठमाडौं । देशभर तापक्रम बढ्ने क्रम जारी रहँदा तराईका जिल्लाहरूमा गर्मीको लहर ह्वात्तै बढेको छ। पछिल्लो मापनअनुसार कैलालीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको गर्मीको चेतावनी नक्सामा रातो रङले संकेत गरिएका क्षेत्रहरूमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले जनजीवनलाई प्रभावित बनाएको छ।
बढ्दो गर्मीका कारण सर्वसाधारणमा ’डिहाइड्रेसन’ (शरीरमा पानीको कमी), अत्यधिक थकान, टाउको दुख्ने, चक्कर लाग्ने र बेहोस हुने जस्ता स्वास्थ्य समस्याहरू देखिन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले सचेत गराएका छन्।