काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई विकल्पबिनै उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ।
आइतबार जारी विज्ञप्तिमा पार्टीले यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र प्रभावित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका कार्यले पीडित परिवार बिचल्लीमा परेको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने जोखिम बढेको उल्लेख गरिएको छ। त्यसैगरी, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई पनि नेकपाले संविधानविपरीत भन्दै अस्वीकार्य ठहर गरेको छ। ट्रेड युनियन र संगठित हुने अधिकारमाथि अंकुश लगाउने प्रयासले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने पार्टीको दाबी छ। पार्टीले महँगी र कालोबजारी नियन्त्रण गर्न पनि सरकारसँग माग गर्दै वर्तमान शासनमा सुशासन, सामाजिक न्याय र समावेशीता सुनिश्चित गर्न आग्रह गरेको छ। नेकपाले सरकारलाई जनताको अधिकार र आधारभूत आवश्यकता सुनिश्चित गर्दै जिम्मेवार र लोकतान्त्रिक ढंगले अघि बढ्न सुझाव दिएको छ।