काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक सामग्री नफैलाउन सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
आइतबार नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिम्मेवार पत्रकारिता र आत्मअनुशासनको आवश्यकता औँल्याउँदै हल्ला र अपुष्ट सूचनाबाट टाढा रहनुपर्ने बताए। मन्त्री तिमिल्सिनाले भ्रामक सूचनाले समाजमा छोटो समयमा नै ठूलो नकारात्मक असर पार्न सक्ने भन्दै त्यसप्रति सचेत रहन सञ्चार क्षेत्रलाई आग्रह गरे। उनले सञ्चारमाध्यम आफैं जिम्मेवार बन्नु आवश्यक रहेको उल्लेख गर्दै सरकारले कारबाहीभन्दा पनि सचेतनालाई प्राथमिकता दिएको बताए।
उनका अनुसार सरकारी सूचना र विज्ञापनलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ नीति कार्यान्वयनमा ल्याइएको छ। साथै, सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत प्रवाह गर्ने व्यवस्था पनि पारदर्शितासँग जोडिएको उनले स्पष्ट पारे। मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउँदै तथ्यमा आधारित, जिम्मेवार र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने धारणा राखे। उनले सरकारले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकलाई सरकारप्रति निरन्तर निगरानी र सत्यमा आधारित आलोचना गर्न पनि आग्रह गरे।