काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको नीति र कार्यशैलीमाथि प्रश्न उठाउँदै एक युवाले आमरण अनसन सुरु गरेका छन्। पार्टी कमिटीहरूमा ४० वर्ष मुनिका युवाहरूको ६० प्रतिशत सहभागिता हुनुपर्ने र विशेष महाधिवेशनको माग राख्दै भुवन सिंह विष्ट तीन दिनदेखि अनसनमा बसेका हुन्।
अनसनरत विष्टले पार्टी सुधारका लागि भन्दै पार्टीको केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराइनुपर्ने माग राखेका छन् । उनले ३ महिनाभित्र विशेष महाधिवेशनको मिति तोकी सम्पूर्ण कार्यक्रम सम्पन्न गरिनुपर्ने र केन्द्रीय पदाधिकारीहरू प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर उनी पार्टीको केन्द्रीय कार्यालयमा अनसन बसेका हुन । साथै, उनले पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तत्काल सार्वजनिक गरिनुपर्ने माग समेत अघि सारेका छन् ।
साथै, उनले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टी नेतृत्वको कमजोरी भएको भन्दै यसलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने माग पनि राखेका छन्।
विष्टले पार्टीका नेताहरूले मुखले युवा पुस्तालाई अघि बढाउने कुरा गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको भन्दै अनसनमार्फत नेतृत्वको ध्यानाकर्षण गराएका छन्। ‘मुखले युवा ल्याउनुपर्छ भन्ने तर व्यवहार त्यस्तो नभएपछि मैले पार्टीको ध्यानाकर्षण गराएको हुँ,’ उनले भनेका छन्।
तीन दिनदेखि जारी यो अनसनलाई नेकपा वृत्तमा चासोको साथ हेरिएको छ। पार्टी नेतृत्वले युवा पुस्ताको यस्तो मागलाई कसरी सम्बोधन गर्ला, त्यो भने प्रतीक्षाको विषय बनेको छ।