काठमाडौँ। पछिल्लो समयमा उपत्यकाका बजारमा केराको मूल्य गत वर्षभन्दा झन्डै दोब्बरले बढेको छ । गत वर्ष यो बेलामा प्रतिदर्जन औसत १२० देखि १५० रुपियाँ थोकमा पाइने केराको मूल्य अहिले बढेर प्रतिदर्जन तीन सयदेखि ३५० रुपियाँ पुगेको नेपाल फलफूल व्यवसायी सङ्घले जनाएको छ । खुद्रा बजारमा केराको मूल्य अझै उच्च छ ।
खुद्रा बजारमा केराको मूल्य प्रतिदर्जन तीन सय रुपियाँदेखि ३५० रुपियाँसम्म बिक्री भइरहेको छ । आमनेपाली उपभोक्ताले उपभोग गर्न सक्ने मूल्यमा पाइने केरा यस पटक सर्वसाधारण उपभोक्ताको हैसियतले नभ्याउने गरी मूल्यवृद्धि भएको छ ।
सङ्घका अध्यक्ष अम्बर बानियाँले पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध लगाइएकाले मूल्य बढेको बताए । उनका अनुसार उपत्यका बजारमा यो बेला हुने मागको २५/३० प्रतिशत मात्रै केराको आपूर्ति भएकाले केरा महँगो भएको हो । नेपालमा उत्पादन हुने केराले असोजदेखि मङ्सिरसम्म धान्ने गरेको भए पनि वर्षभरिको माग धान्ने गरी उत्पादन हुन नसकेको अहिलेको बजारको अवस्थाले देखाएको अध्यक्ष बानियाँको भनाइ छ ।
सरकारले गत असोज २ देखि भारतीय केरामा ‘टिआर–फोर’ नामक रोगको प्रकोप रहेको भन्दै नेपाल ल्याउन रोक लगाएको थियो । वैशाखदेखि साउनको दोस्रो सातासम्म कम उत्पादन भएकाले तुलनात्मक रूपमा महँगो भए पनि त्यसपछिका दिनमा भने नेपाली केरा बजारमा पर्याप्त पाइने दाबी गरिएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब तीन लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने करिब ६० हजार मेट्रिक टन भारतीय केरा आयात हुने गरेको छ ।