काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाताहरूलाई प्रचलित कानुन बमोजिम श्रम सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन कडा निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको हो।
केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरूलाई नियमअनुसार श्रम सम्झौता नगरी काममा लगाइएको तथा तोकिएको समयभन्दा बढी काममा दलाइएको भन्ने उजुरी प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले कुनै पनि कर्मचारी वा प्रशिक्षार्थीलाई बाध्य पारेर बढी समय काममा लगाउन नपाइने स्पष्ट पारेको छ। प्रचलित कानुनको उल्लंघन गरी कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।
