काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । प्रधानमन्त्री बालेनको पूरानो र्याप ब्याटलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ अस्वभाविक शब्दहरु बोलिएको ब्यूरोमा उजुरी परेको हो ।
शुक्रबार उक्त भिडियोलाई लिएर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सक्रिय सदस्य पवन राई (बाबु दुमी), विवेक मगर, रोजी पुन र मनिनन्द्र सिंह दनुवारले ब्यूरोमा उजुरी दर्ता गराएका हुन् ।
उनीहरूका अनुसार उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा, बलात्कारलाई प्रोत्साहन गर्ने खालमा रहेका छन् ।साथै उनीहरूले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतका यस्ता सामग्रीहरूको जवाफदेहिता आवश्यक रहेको स्पष्ट पारेका छन् ।
