काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरूमाथि डोजर चलाएको छ। महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र रहेका कोषको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाएको हो।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीका अनुसार सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा अवैध टहराहरू भत्काइएको छ। पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गामा बनेका अनधिकृत संरचना हटाइदिन अनुरोध गरेपछि महानगरको टोली डोजरसहित पुगेको थियो।
निर्वाचन र आचारसंहिताका कारण केही समय रोकिएको अनधिकृत संरचना हटाउने र अनुगमन गर्ने कार्यले अब फेरि तीव्रता पाउने प्रमुख जोशीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आचारसंहिताले गर्दा केही समय काम रोकिएको थियो, अब भने हामी थप सक्रियताका साथ महानगरभित्रका अवैध संरचना हटाउनेछौँ।“
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नपाइने नीति लिएकाले अबका दिनमा कवाडी संकलन र भण्डारणलाई पनि कडाइका साथ हटाइने प्रमुख जोशीले स्पष्ट पारे । सहरको सुन्दरता र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै महानगरले गौशाला क्षेत्रका कवाडी संकलन केन्द्रहरूमा पनि निगरानी बढाएको छ।