काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट घर भई काठमाडौँ–३२ बस्ने २९ वर्षीय अनन्त कोईराला, इलाम घर भई गोकर्णेश्वर–५ बस्ने ४७ वर्षीय जगत बहादुर खड्का, तारकेश्वर–६ घर भई काठमाडौँ–२६ बस्ने ५४ वर्षीय ज्ञानु श्रेष्ठ र रामेछाप घर भई भक्तपुर–१५ बस्ने २२ वर्षीय बिकास श्रेष्ठ रहेका छन्। उनीहरूले फिनल्याण्ड, कतार, युएई र साइप्रस पठाइदिने बहानामा पीडितहरूबाट कुल ४४ लाख ५४ हजारभन्दा बढी रकम असुल गरी सम्पर्कविहीन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेकामध्ये अनन्त कोईरालाले मात्रै फिनल्याण्ड पठाउने भन्दै एक पीडितबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ ठगी गरेको पाइएको छ। त्यसैगरी, बिकासले ९ लाख, ज्ञानुले ३ लाख र जगतले १ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। पक्राउ परेका मध्ये अनन्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने अन्य तीन जनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल बुझाइएको छ।