अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वैशाख ३ गते शुक्रबार बेलुका कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्किने क्रममा उक्त दुर्घटना भएको हो। बाबु पहलसिंहले डुङ्गा चलाइरहेका थिए भने छोरा त्यसमा सवार थिए। नदीको बीच भागमा पुगेपछि डुङ्गा एक्कासि पल्टिएको प्रहरीले जनाएको छ।
घटना लगतै बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (म्क्ए) ओमप्रकाश खनालका अनुसार बेपत्ता बाबुछोराको खोजीका लागि अस्थायी प्रहरी सुरक्षा बेस, माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, प्रहरी चौकी ढुङ्गाचाल्ना र ढकारी, सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त विशेष टोली खटिएको छ ।
सशस्त्र प्रहरीको विशेष टोली घटनास्थलतर्फ पुग्ने क्रममा रहेको र स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ। नदीमा पानीको बहाव र भौगोलिक विकटताका कारण खोजीमा चुनौती देखिएको प्रहरीको भनाइ छ।