काठमाडौँ । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छ। आयोजनाले बर्दियाको अमन कन्स्ट्रक्सन कम्पनीलाई ५ करोड ३३ लाख ४२ हजार ९६ रुपैयाँ सरकारी खातामा दाखिला गर्न ३५ दिने अन्तिम म्याद ९अल्टिमेटम० दिएको हो। शुक्रबार ९वैशाख ४ गते० एक सार्वजनिक सूचना जारी गर्दै आयोजनाले उक्त रकम नबुझाएमा कडा कानुनी प्रक्रिया अपनाइने चेतावनी दिएको छ।
आयोजना र अमन कन्स्ट्रक्सनबीच आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न चार वटा ठेक्का सम्झौता भएका थिए। सम्झौता अनुसार काम सम्पन्न नगरेपछि आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम सम्झौता रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको थियो।
आयोजनाको उक्त निर्णयका विरुद्ध निर्माण कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, अदालतले कम्पनीको रिट खारेज गरिदिएपछि बाँकी काम अन्य प्रक्रियाबाट गराउँदा लाग्ने थप लागत साविककै कम्पनीबाट असुल गर्ने बाटो खुलेको हो।
आयोजनाका अनुसार यसअघि २०८२ साल चैत २ गते पनि २१ दिनको समय दिएर पत्र काटिएको थियो। तर, कम्पनीले अटेर गरेपछि पुनः ३५ दिने म्याद दिइएको हो। तोकिएको समयभित्र बैंक खातामा रकम जम्मा गरी सक्कल भौचर पेस नगरेमा ’आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ अनुसार कारबाही अघि बढाइने अयोजनाले जनाएको छ । रकम असुलीका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमार्फत सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया सुरु गरिने आयोजनाले स्पष्ट पारेको छ।
बबई सिँचाइ आयोजनाले पछिल्लो समय ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीहरूमाथि निगरानी बढाउँदै लगेको छ। यसअघि पनि आयोजनाले विभिन्न कम्पनीहरूलाई सचेत गराउँदै आएको थियो।