काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती-५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन उनले निर्देशन दिए ।
सँगै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गरिएको उनले बताए । विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको भन्दै उनले समस्या समाधान गर्दै अघि बढ्ने बताएका छन्।
केन्द्रमा करिब एक अर्ब रूपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने उनले बताए । नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन सञ्चारमन्त्रीले निर्देशन दिएका छन् ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आउँदा दिनमा केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरलगायतका कागजात छाप्ने योजना सुनाए ।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ । विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको ढुंगानाले बताए ।