काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई हिरासतमुक्त गर्न आदेश दिएको छ । बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनिता थापाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।
अदालतले खड्कालाई रिहा गर्न आदेश दिए पनि विदेश जानुअघि भने अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने सर्त राखेको छ । खड्का यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थिए ।