काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले तिवारीलाई मात्र नभई उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई समेत प्रतिवादी बनाएको छ । स्रोतका अनुसार तिवारीले पदमा रहँदा आर्जन गरेको सम्पत्तिको स्रोत नखुलेको र सो रकम श्रीमती तथा छोरीको नाममा समेत लुकाएको पाइएपछि उनीहरूलाई पनि मुद्दामा तानिएको हो ।
विशेष अदालतमा मुद्दा दर्ता भएसँगै तिवारीको सम्पत्ति शुद्धीकरण र पदको दुरुपयोगबारे थप कानुनी प्रक्रिया अघि बढेको छ ।