काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क ताय योङ बीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा राजदूत योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, नेपालको आर्थिक–सामाजिक विकासमा कोरियाको सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
भेटघाटका क्रममा गृहमन्त्री गुरुङले कोरियामा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गरे । प्रत्युत्तरमा राजदूत योङले नेपालीहरू अनुशासित र मेहनती रहेको उल्लेख गर्दै कोरियाली समाजमा उनीहरूको आर्थिक तथा सामाजिक योगदानको सराहना गरेका थिए । मन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीको साइबर ब्यूरोलाई साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा पुगेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा भीड नियन्त्रण तथा नागरिक सुरक्षाका लागि आवश्यक सुरक्षा सामग्री र उपकरणको व्यवस्थापनमा सरकार–सरकारबीच सहकार्य गर्न प्रस्ताव गरे ।
यस्तै, गृहमन्त्रीले नेपालमा सञ्चालित कोरियाली व्यवसाय र लगानीकर्ताको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए । साथै, उनले बौद्ध संस्कृतिको प्रवद्र्धन र लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न दुई मुलुकबीच साझेदारी आवश्यक रहेकोमा जोड दिए । भेटको अन्त्यमा दुवै पक्षले ऐतिहासिक सम्बन्धलाई थप सुमधुर बनाउँदै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरेका थिए ।