काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर खारेजी र बढ्दो महङ्गी नियन्त्रणको माग गर्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले हातमा प्लेकार्ड र प्रतीकात्मक रूपमा रित्तो भाँडाकुँडा (कराही) प्रदर्शन गर्दै सरकारको आर्थिक नीतिको विरोध गरेका हुन् ।
प्रदर्शनकारीहरूले इन्धनमा लादिएको अनावश्यक करका कारण सर्वसाधारणको भान्सा महँगो भएको भन्दै तत्काल मूल्य समायोजन गर्न दबाब दिएका छन् । “१ लिटर पेट्रोलमा ७ थरी कर ?“ लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरूले सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन् । विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न शीर्षकका करहरू खारेज गरी मूल्य घटाउनुपर्ने माग राखेका छन् । यसका साथै, महङ्गी नियन्त्रण, राहत प्याकेज जस्ता माग राखेका छन् । उनीहरुले बजारमा व्याप्त कालाबजारी र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि रोक्नुपर्ने र आर्थिक संकटबाट प्रभावित सर्वसाधारण र विद्यार्थीका लागि विशेष राहत घोषणा गर्नुपर्ने माग समेत राखेका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारलाई व्यङ्ग्य गर्दै “मन्त्रीहरूको सुनै सुन, जनतालाई छैन खाने नुन“ र “घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन“ जस्ता नारा लगाएका थिए ।
शान्तिपूर्ण रूपमा आयोजित उक्त विरोध कार्यक्रममा विद्यार्थी नेताहरूले सरकारले आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनलाई देशव्यापी र थप सशक्त बनाउने चेतावनी दिएका छन् ।