काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशको सप्तरीदेखि सुदूरपश्चिमको कञ्चनपुर जिल्लासम्मको तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गरेको छ।
महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरेको हो।
महाशाखाका अनुसार तराईका जिल्लाहरूमा तापक्रम क्रमिक रूपमा बढ्दै गएकाले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। विशेष गरी ‘पहेँलो रङ’ द्वारा अङ्कित गरिएका (सचेत रहनुपर्ने) क्षेत्रहरूमा दिउँसोको समयमा अत्यधिक गर्मी हुने पूर्वानुमान गरिएको छ। यो मौसमी अवस्था भोलि पनि यथावत् रहने सम्भावना रहेकोले सतर्कता अपनाउन भनिएको छ।
मौसमविद्हरूले बढ्दो गर्मी र तातो हावाबाट बच्नका लागि सर्वसाधारणलाई विभिन्न सुझावहरू समेत दिएका छन्। महाशाखाले दिउँसोको चर्को घाममा बाहिर निस्कँदा अनिवार्य रूपमा छाता ओढ्न, टाउको छोप्न र शरीरलाई शीतल राख्ने खालका कपडा लगाउन आग्रह गरेको छ।
यस्तै, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउन र घामको सिधा सम्पर्कमा धेरै समय नबस्न समेत सुझाव दिइएको छ।