ललितपुर । ललितपुर महानगरपालिका–४ बागडोलस्थित एक घरबाट ठुलो परिमाणमा सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न मुख्य अभियुक्त र चोरीका गहना खरिद गर्ने सुन पसलेलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चोरीमा संलग्न ३२ वर्षीय अमन देउला र चोरीका गहना खरिद गरी गाल्ने कार्यमा संलग्न स्वपन चक्रवर्तीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत चैत २६ गते दिउँसो बागडोलस्थित एक घरबाट करिब ७९ लाख १२ हजार ५ सय २ रुपैयाँ बराबरको सुन र चाँदीका गरगहना चोरी भएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले प्राविधिक र स्थलगत अनुसन्धान सुरु गरेको थियो।
पक्राउ परेका दुबैजना चोर्ने र चोरेका सामाग्री खरिद गर्ने काठमाडौँ महानगरपालिका–२१ का ३२ वर्षका अमन देउला ललितपुर–४ बाटै पक्राउ गरिएको हो । त्यस्तै, चोरिका गहना खरिद गरी गलाएको अभियोगमा भारत पश्चिम बंगाल घर भई काठमाडौँ–२३ मा ’अर्पिता ज्वेलर्स’ सञ्चालन गर्दै आएका (४७ वर्षका स्वपन चक्रवर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्वपन चक्रवर्तीको पसलबाट सुन तथा चाँदी जस्तो देखिने विभिन्न गरगहनाहरू समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
चोरीमा संलग्न गिरोहको अन्य कनेक्सन र बरामद गहनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।