काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालित प्रहरी अपरेशनका क्रममा अवैध लागूऔषध र नियन्त्रित फर्मास्युटिकल औषधिहरू सहित १३ जना पक्राउ परेका छन्। काठमाडौँ, सुनसरी, मकवानपुर, बाँके र कैलाली लगायतका जिल्लाबाट बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट ५ सय ६० ट्याब्लेट ट्रामाडोल सहित २७ वर्षीय प्रितम महर्जन पक्राउ परेका छन्। यस्तै, ललितपुरको कृष्णगल्लीबाट २ सय ६७ ट्याब्लेट ट्रामाडोल सहित चितवनका सिद्धार्थ भुजेल र गोरखाका विशाल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, सुनसरीको बराहक्षेत्रस्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले विशेष सुराकीका आधारमा ३ हजार २ सयभन्दा बढी ट्याब्लेट लागूऔषध बरामद गरेको छ। पक्राउ पर्नेमा उदयपुरका राज राई र खुसे राई रहेका छन्। उनीहरूको साथबाट १६१० ट्याब्लेट ट्रामाडोल र १६०९ ट्याब्लेट स्पास्पेन फेला परेको छ। उता मकवानपुरको हेटौँडाबाट ३० ट्याब्लेट ट्रामाडोल सहित संजिब लोप्चन पक्राउ परेका छन्।
प्रहरीले ब्राउनसुगर र खैरो हेरोइन सहित ७ जना नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा गरिएको खानतलासीका क्रममा ब्राउनसुगर र हेरोइन सहित ७ जना पक्राउ परेका हुन । विराटनगर–१५ बाट काठमाडौँका सयल थापा मगर २० ग्राम ५५० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो । प्रहरीले शिवराज नगरपालिकाबाट शाहिल खान र भिमा सुनार १४५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गर्यो । बाँकेको खजुराबाट ३० मिलिग्राम ब्राउनसुगर सहित प्रवेश शाही र भिम बहादुर थापा, कैलालीको धनगढीबाट ११० मिलिग्राम ब्राउनसुगर सहित विशाल चन्द र तनहुँको आँबुखैरेनीमा माइक्रो बस चेकजाँचका क्रममा ५८ ट्याब्लेट ट्रामाडोल सहित अमृत गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको छ। खुल्ला सीमा र औषधि पसलहरूबाट हुने अवैध बिक्री वितरणका कारण युवा पुस्ता लागूऔषधको जोखिममा परेको भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।