बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सौन्दर्यीकरण र सहज आवागमनका लागि फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र पारेको छ। स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न दिएको समयसीमा सकिएपछि उपमहानगरले डोजर प्रयोग गरी संरचना हटाउन सुरु गरेको हो।
उपमहानगरपालिकाले विगत तीन दिनदेखि नगर क्षेत्रमा माइकिङ गर्दै व्यवसायीहरूलाई आफ्ना सामान र संरचना हटाउन आग्रह गरेको थियो। “हामीले व्यवसायीलाई स्वेच्छिक रूपमा खाली गर्न पर्याप्त समय दिएका थियौँ,“ उपमहानगर स्रोतले भन्यो, “तर निर्देशनलाई अटेर गरेपछि बाध्य भएर हटाउनु परेको हो।“
अभियानको पहिलो चरणमा बुटवलका मुख्य र व्यस्त क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ । जसमा बसपार्क क्षेत्र, अस्पताल लाइन र ट्राफिक चोकका क्षेत्रमा डोजर लगाएर फुटपात खालि गरेको हो । प्रशासनले निर्देशन पालना नगर्ने केही व्यवसायीका व्यापारिक सामग्रीहरू समेत जफत गरेको छ।
नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना अन्तर्गत यो कदम चालिएको हो। “फुटपाथ खाली हुँदा पैदलयात्रीलाई सहज मात्र भएको छैन, यसले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक जाम नियन्त्रणमा समेत ठूलो सहयोग पुग्नेछ,“ प्रमुख पाण्डेयले बताउनुभयो। शहरको सौन्दर्य वृद्धि हुँदा पर्यटक आकर्षण बढ्ने र व्यापारिक वातावरण थप व्यवस्थित हुने विश्वास उपमहानगरको छ।
महानगरको कदमले शहर व्यवस्थित देखिए पनि साना फुटपाथ व्यवसायीहरू भने मर्कामा परेका छन्। उनीहरूले वर्षौंदेखि गुजारा चलाउँदै आएको ठाउँ खोसिएकाले उपमहानगरले आफूहरूका लागि उपयुक्त वैकल्पिक स्थान तोकिदिनुपर्ने माग गरेका छन्। “हाम्रो रोजीरोटी खोसिएको छ, महानगरले हामीलाई व्यवसाय गर्ने निश्चित ठाउँ दिनुपर्छ,“ एक व्यवसायीले गुनासो गरे।