काठमाडौँ । वैदेशिक रोजगारी र आकर्षक आम्दानीको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ४६ जना नेपाली नागरिकको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको सक्रियतामा उनीहरूलाई ३० चैत र १ वैशाखमा दुई चरण गरी स्वदेश फिर्ता पठाइएको हो।
.
विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगी जस्ता गैरकानुनी काममा लगाइएको थियो। उद्धार गरिएकामध्ये अधिकांश बिनाभिसा वा भिसा अवधि समाप्त भएपछि पनि लुकिछिपी बसिरहेका अवस्थामा फेला परेका थिए। दूतावासका अनुसार मानव तस्करहरूले उनीहरूलाई बन्धक जस्तै बनाएर जोखिमपूर्ण काममा लगाएका थिए।
तथ्याङ्कपछिल्लो पाँच वर्षमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्यामा अस्वभाविक वृद्धि देखिएको छ। कम्बोडियाको पर्यटन विभागको तथ्याङ्कले नेपालीहरू कामका लागि नभई ’पर्यटक’ बनेर अवैध बाटोबाट त्यहाँ पुग्ने गरेको पुष्टि गर्छ । कम्बोडिया भ्रमण भिसामा जाने नेपालीको संख्या बर्षैनी बढ्दै गएको छ । जसमा २०२१ मा कम्बोडिष जाने नेपालीको संख्या १०१ जना रहेकोमा २०२२ मा १ हजार ९७७ जना, २०२३ मा २ हजार ९४० जना, २०२४ मा ६ हजार ४०४ जना र २०२५ मा ९ हजार ६७६ जना गएको तत्थ्याङ्क रहेको छ ।
राजदूतावासले कम्बोडियामा अझै पनि केही नेपालीहरू अनलाइन ठगीलगायतका गैरकानुनी काममा संलग्न रहेको वा भिसा विहीन अवस्थामा रहेको जानकारी प्राप्त भएको जनाएको छ। “कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,“ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई पनि क्रमिक रूपमा स्वदेश फर्काउन स्थानीय प्रशासनसँग समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ।
दूतावासले वैदेशिक रोजगारीका नाममा हुने यस्ता अवैध प्रलोभनमा नपर्न र भ्रमण भिसामा गएर काम नगर्न नेपाली नागरिकहरूलाई विशेष अपिल समेत गरेको छ।