काठमाडौँ । ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काठमाडौँको ’खुल्लामञ्च’ अबदेखि सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ। बिहीबार बिहान एक विशेष कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा खुल्लामञ्च खुला गरिएको घोषणा गरियो।
लामो समयदेखि विभिन्न भौतिक संरचना र निर्माण सामग्रीले भरिएको खुल्लामञ्चलाई अब विशुद्ध योग, ध्यान र मानसिक शान्तिका लागि उपयोग गरिने महानगरले जनाएको छ।
महानगरका अनुसार खुल्लामञ्चलाई नागरिकको स्वास्थ्य र मनोरञ्जनसँग जोड्ने उद्देश्यले निम्न क्रियाकलापका लागि खुला गरिएको हो। जसमा योगा र ध्यान, साउण्ड, विश्राम स्थलको रुपमा प्रयोग गर्न सकिने महानगरले जनाएको छ ।
बालेन शाहको कार्यकालमा सुरु भएको थियो पूर्वाधार
वर्तमान प्रधानमन्त्री तथा काठमाडौँका तत्कालीन मेयर बालेन शाहको कार्यकालमा खुल्लामञ्चलाई व्यवस्थित गर्ने र यसलाई खाली गराउने अभियान सुरु भएको थियो। त्यस समयमा खुल्लामञ्च भित्र रहेका अस्थायी संरचना हटाएर आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो।
अहिले ती निर्माणका कामहरू सम्पन्न भई सुन्दर र व्यवस्थित पार्कको रूप दिइएपछि महानगरले यसलाई नागरिकका लागि खुल्ला गरेको हो। महानगरपालिकाले खुल्लामञ्चको संवेदनशीलता र ऐतिहासिक गरिमालाई ध्यान दिँदै यहाँ गरिने गतिविधिहरूलाई मर्यादित बनाउन समेत आग्रह गरेको छ।