काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाइएको उनको निजी सचिवालयले जनाएको छ।
बैठक मुख्यतया विकास निर्माणका कार्यलाई तीव्रता दिने र केन्द्र तथा प्रदेशबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशले लामो समयदेखि भोग्दै आएका प्रशासनिक र आर्थिक उल्झन सुल्झाउने विषयलाई बैठकको प्रमुख एजेन्डा बनाइएको छ।
विशेषगरी राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच कसरी सहकार्य गर्ने भन्नेबारे बैठकमा गहन छलफल हुनेछ। देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकासमा देखिएका सुस्तता, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीसँग साझा समझदारी निर्माण गर्ने प्रधानमन्त्रीको योजना छ।
प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि प्रदेश सरकारका प्रमुखसँग हुन लागेको यो पहिलो औपचारिक संवादलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र आम नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।