काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आह्वान गरेकी छन् । हालै प्राप्त धेरै विवाह निमन्त्रणापत्रहरूमा दाइजोमुक्त विवाहको उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाली समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताइन् ।
सामाजिक सञ्जालमार्फत उनले दाइजो लिनु–दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको र दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने उल्लेख गर्दै यसविरुद्ध व्यक्तिगत स्तरबाटै पहल गर्नुपर्नेमा जोड दिइन्।
दाइजो भएको विवाहमा आफू सहभागी नहुने स्पष्ट घोषणा गर्दै उनले दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरिन्। साथै, विवाह कार्डमै ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न सबैलाई अनुरोध गर्दै दाइजोमुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको उनको भनाइ छ ।