पाल्पा । नेपाली सेनाको ऐतिहासिक पदयात्रा टोली आज वैशाख २ गते पाल्पा आइपुगेको छ। ऐतिहासिक सम्पदा, संस्कृति र अभिलेखको संरक्षण तथा संवद्र्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ गत चैत्र २७ गते गोरखाबाट सुरु भएको यो पदयात्राको चौथो संस्करण हो।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह र तत्कालीन गोर्खाली फौजले प्रयोग गरेका पदमार्ग, कोट, गढी र किल्लाहरूको पहिचान तथा प्रचार–प्रसार गर्नु यस पदयात्राको मुख्य लक्ष्य हो। वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक दिनको स्मरणमा यो कार्यक्रम आयोजना गरिँदै आएको छ।
करिब २०७ किलोमिटरको दूरी तय गर्ने यो पदयात्रा आगामी वैशाख ७ गते रुपन्देहीको जितगढी किल्ला पुगेर समापन हुनेछ। सोही दिन जितगढीमा विशेष ’विजय उत्सव’ दिवस मनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
यस पदयात्राले ऐतिहासिक पर्यटन प्रवद्र्धन हुनुका साथै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
